Tribhuwan University
en np

त्रिभुवन विश्वविद्यालयको ६२ औं वार्षिक दिवस बैठक सम्पन्न

त्रिभुवन विश्वविद्यालयको ६२ औं वार्षिक दिवस बैठक ५९ औं ग्रेस लिष्ट पारित गरी सम्पन्न भएको छ । 
कोरोना भाइरस (कोभिड–१९) को  कारण  विद्युतीय माध्यम (अनलाइन) बाट सम्पन्न बार्षिक दिवस बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्त सम्म तोकिएका सम्पूर्ण आवश्यकता पुरा गरी ट्रान्सक्रिप्ट समेत लिइसकेका विद्यार्थीहरुलाई ग्रेसलिष्टमा समावेश गरिएको छ । ग्रेस लिष्टमा सहभागी चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ३ सय ४०, इन्जियरिङ्ग अध्ययन संस्थान अन्तर्गत ८ सय २६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९ सय ७४, कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४ सय ६२, वन विज्ञान अध्ययन संस्थान अन्तर्गत २ सय ७९ व्यवस्थापन संकाय अन्तर्गत ८ हजार ३ सय ४३, शिक्षाशास्त्र संकाय अन्र्तगत ७ हजार १ सय १८, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ७ हजार ५ सय ७ र कानुन संकाय अन्तर्गत ८ सय ८० गरी जम्मा २९ हजार ७ सय २९ जना विद्यार्थीहरु आगामी दीक्षान्त समारोहमा समावेश हुन योग्य भएका छन । 

त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सभाको अध्यक्षता गर्ने अख्तियारी उपकुलपति धर्मकान्त वास्कोटालाई दिई शुभकामना सन्देश मार्फत नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएकोमा त्रिभुवन विश्वविद्यालयलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरका कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त रहँदा पनि त्रिविले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक, प्रशासनिक तथा अनुसन्धान सम्वन्धी गतिविधीलाई निरन्तरता दिएकोमा आफु हर्षित रहेको धारणा सन्देशपत्र मार्फत व्यक्त गर्नुभएको छ  । कठिन परिस्थितिमा पठनपाठन र परीक्षाका नयाँ विकल्पको प्रयोगबाट उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादन र आपुर्तिको कार्यमा नेतृत्वदायी भूमिका बहन गरेकोमा उच्च प्रशंसा गर्दै आगामी दीक्षान्त समारोहमा दीक्षित हुन योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई समेत  दिनुभएको थियो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम् ६२ औं वार्षिक दिवस बैठकका अध्यक्ष प्रा.डा.धर्मकान्त वास्कोटाले कोभिड–१९ को महामारीको जटिल परिस्थितिका वाबजुद एसियाली विश्वविद्यालयहरुमा गतवर्षको तुलनामा १०० औं स्थान माथी स्तरोन्नति प्राप्त गर्न सफल भएको, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सूचना प्रविधि र विद्युतीय कक्षाहरुमा उल्लेखनीय उपलब्धि हासिल गरिएको, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरुमा अनलाइन माध्यमबाट आवेदन बुझाउने व्यवस्था गरिएको, विश्वविद्यालयको वेवसाइटलाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायहरुको वेवसाइटमा एकरुपता ल्याउन इन्जिनियरिङ्ग अध्ययन संस्थान मार्फत काम प्रारम्भ गरि सकिएको, नवनियुक्त शिक्षकहरुलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुवात गरिएको र झण्डै ६ हजार शिक्षकहरुलाई प्रविधिमैत्री  तथा अनुसन्धानमुखी तालिम दिइसकेको तथा कर्मचारीहरुको लागि सेवाकालिन तालिमको व्यवस्था गरिएको, त्रिविका सवै आंगिक क्याम्पसहरुमा अनलाइन कक्षा व्यवस्था गर्न सूचना प्रविधि युनिटको व्यवस्था गरिएको र सामुदायिक क्याम्पसहरुमा अप्टिकल फाइवरको संजाल निर्माण गर्न नेपाल सरकार मार्फत कार्य अगाडि बढाएको, त्रिविमा अन्र्तराष्ट्रिय विद्यार्थीहरुको संख्या ५०० पुयाउन सफल भएको, विश्वविद्यालयको हातामा पर्खाल लगाउन र परिसर भित्रका सडक कालोपत्रे गरी भौतिक संरचना निर्माण गरिएको, विश्वविद्यालयलाई नव प्रवर्दनात्मक तथा अनुसन्धानमुखी बनाउन नेपाल सरकाबाट गत आर्थिक बर्षमा प्राप्त ९ करोड र विश्वविद्यालयको आफ्नै स्रोतबाट ३ करोड गरी जम्मा १२ करोड अनुसन्धानमा लगानी गरी अनुसन्धानलाई वढावा दिइएको, केन्द्रीय पुस्तकालयलाई विद्युतिकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सामग्री अनलाइन डाटावेस मार्फत पाठक समक्ष पुयाइएको । केन्द्रीय पुस्तकालयमा बौद्धिक चोरी पत्ता लगाउने विद्युतीय उपकरण जडान गरि बौद्धिक चोरीलाई न्यूनिकरण गर्ने अभियान शुरु गरीएको बताउनुभएको थियो । 

यसैगरी उपकुलपति प्रा.डा. वास्कोटाले विश्वविद्यालयको बेरुजु न्यूनिकरण गर्ने निर्देशिका तयारी गरी यसै बर्ष ८ अर्ब बेरुजु फर्छौट गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब फर्छौट भइ सकेको, एन्टि करप्सन स्टडी, जियोस्पेस एवम् रक एण्ड टनेल इन्जिनियरिङ्ग जस्ता विषयहरुको अध्यापन शुरुवात गरिएको, विश्वविद्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्टमा एकरुपता कायम गर्न क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाको नीतिगत निर्णय गरिएको, विश्वविद्यालयको पुनः सरंचना गर्न नियम विनियमहरुमा एकरुपता  ल्याउन र शिक्षण, प्रशिक्षण र खर्च प्रणालीमा एकरुपता ल्याउन कार्यदल गठन गरी कार्य अगाडी बढाइएको र विश्वविद्यालयका शिक्षक/कर्मचारीहरुको नियमित आपूर्ति तथा पदोन्नतिका लागि त्रिवि सेवा आयोगबाट गरिने विज्ञापनलाई नियमित गरिएको वार्षिक दिवस बैठक समक्ष जानकारी गराउनुभएको थियो । उपकुलपति प्रा.डा. वास्कोटाले विश्वद्यिालयमा रहेको भौतिक पूर्वधारको जिर्ण अवस्था, शिक्षक कर्मचारीहरुको निवृत्तिभरणको समस्या, उच्चशिक्षामा राज्यको पर्याप्त लगानीको अभाव तथा आशिक, करार शिक्षक÷तथा श्रेणीविहिन कर्मचारी लगायतका समस्याहरुसमेत उल्लेख गर्नुभएको थियो । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोरोना भाइसका कारण सिर्जित जटिल परिस्थितिका कारण वार्षिक दिवस बैठक अनलाइन माध्यमको सहयोगमा गर्नुपर्ने वाध्यात्मक परिस्थिति निर्माण भएको बताउदै वार्षिक दिवस बैठकमा उपस्थित सम्पूर्ण सभासदहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । 

वार्षिक दिवस बैठकमा ५९ औं ग्रेसलिष्टको संक्षिप्त विवरण प्रस्तुत गदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले ग्रेसलिष्टमा सहभागी २९ हजार ७ सय २९ मध्ये साधारण तर्फ २३ हजार ८ सय ४८ (८०.२२ प्रतिशत) र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ (१९.७८ प्रतिशत) विद्यार्थी रहेको जानकारी गराउनुभयो । उहाँले कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थीहरुको नाम ग्रेस लिष्टमा पर्न नसकेको बताउनुभएको थियो ।