Tribhuwan University
en np

शिक्षण अस्पतालमा अत्याधुनिक सघन उपचार कक्ष सञ्चालनमा 


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित अत्याधुनिक  सघन उपचार कक्ष (आइ.सी.यू) को उद्घाटन त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले २०७७।१२।२४ मा गर्नुभयो ।  
नेपाल सरकार,स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब पौने  ६ करोड लगानीमा निर्मित अत्याधुनिक सघन उपचार कक्षमा १२ बटा शैया रहेका छन् । उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति प्रा.डा बास्कोटाले आइसीयू निर्माणमा महत्वपूर्ण योगदान दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै आइसियूबाट सम्पूर्ण विरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । अस्पताल र विश्वविद्यालय दुवैमा अनेकौ समस्या र चुनौती रहेको उल्लेख गर्दै उहाँले सवैको सहयोग र आपसी विश्वासमार्फत समस्याको समाधान गर्दै संस्थागत विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने सवैप्रकारका सुविधाहरु उपलब्ध गराउन आफू प्रयत्नशिल रहेको भन्दै उहाँले अस्तपाल नेतृत्वलाई सवैप्रकारका  सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
चिकित्साशास्त्र अध्ययन संस्थानका  डीन प्रा.डा. दिव्यासिंह शाहले कोरोनाको महामारीमा पर्याप्त आइ.सि.यू नहुँदा विरामीहरुको उपचारमा कठिनाई उत्पन्न भएको स्मरण गर्नुहुँदै सरकारका महत्वपूर्ण पदाधिकारीहरुसँग समन्वय गरी आइ.सि.यू निर्माणमा सफलता प्राप्त भएको बताउनुभयो । उहाँले सरकारबाट प्राप्त रकमलाई सदुपयोग गरी अस्पताललाई थप व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले महामारीको उच्च जोखिममा  अनेकौ कठिनाई र व्यवधानका बावजुत विश्वविद्यालयका पदाधिकारीहरुको सहयोगमा अस्पताललाई सक्रिय बनाउन आफननो टिम  परेको बताउनुभयो । कार्यकारी निर्देशकमा आफ्नो नियुक्तीसँगै कोरोनाको जोखिम उच्च हुँदै गएको कठिन परिस्थितिको अनुभव सुनाउदै उहाँले अस्पतालको सेवालाई स्तरोन्नती गर्न सहयोग गर्नुहुने सबै पक्षहरुप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले कोरोना जोखिमका समयमा योगदान गर्नुहुँदै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन लागिएको समेत बताउनुभएको थियो । यसैगरी त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक प्रा.डा.सुवास प्रसाद आर्चायले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै अस्पतालमा आइसीयूको अभावमा कतिपय विरामीहरु प्रभावित रहेको उल्लेख गर्दै आइसियूको अत्यधिक आवश्यकता रहेको र आफूहरु थप आइसियू सञ्चालन गर्न समेत सक्षम रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले आइसियूमा अस्पतालमा उपचारहुने सवै विधाका विरामीहरुका लागी उपयोग गर्ने योजना रहेको समेत जानकारी गराउनुभएको थियो ।