Tribhuwan University
en np

त्रिविको ४६ औं दीक्षान्त समारोह सम्पन्न। 

त्रिविको ४६ औं दीक्षान्त समारोह सम्पन्न। 
त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोह पूर्वराष्ट्रपति डा.रामवरण यादव प्रमुख आतिथ्यतामा आज २०७७ पुस ६ गते सम्पन्न भएको छ  । 
कोभिड १९ का कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीहरु मात्रै उपस्थित गराई आयोजना गरिएको दीक्षान्त समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सकृप्ट लिई ग्रेसलिष्टमा समावेश भएका विद्यावारिधी,एमफिल,स्नातकोत्तर र स्नातम तहका गरी ५६ हजार ७ सय १३ विद्यार्थी समेत दिक्षित भएका छन् । 
दिक्षान्त समारोहमा भिडियो क्लीप मार्फत सम्वोधन गर्नुहुदै त्रिविका कुलपती एवम् सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले दिक्षित विद्यार्थीहरुलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गर्नुभएको थियो । उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रंशसा गर्दै प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 
प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवज्यूले शिक्षाको अवसरवाट कोही वन्चित हुन नपरोस भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताउनुभयो । मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै उहाँले राज्यले शिक्षामा लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताउनुभयो । शिक्षामा अतिव्यापारीकरण र निजिकरण बढेको, दलीय प्रभाव वढेको र सहि नीिति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिवद्धताको अभाव भएको भन्दै उहाँले देशको विकासमा महत्वपूर्ण योगदान गर्ने  र विश्वबजारमा प्रतिस्पर्धी हुने शिक्षा आवश्यक रहेको बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा दीक्षान्त समारोहका अध्यक्ष प्रा.डा.धर्मकान्त बास्कोटाले कोभिड १९ का कारण दीक्षान्त समारोहमा सवैलाई उपस्थित गराउन नसक्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभयो । पूर्वाधारको कमी, जीर्ण हुँदै गइरहेका भौतिक संरचना, नेपाल सरकारवाट प्राप्त सिमित स्रोत साधनका बावजुद नेपाली जनताका सन्ततीहरुलाई उच्चशिक्षा दिने महत्वपूर्ण चुनौतिपूर्ण अभिभारा बोकेको बताउनुभयो । त्रिविबाट उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तराष्ट्रियस्तरमा  समेत ज्ञान,सिप र दक्षता प्रदर्शन गरी विश्वविद्यालयलाई गौरवान्वित बनाएको धारणा व्यक्त गर्नुभएको थियो । त्रिविले हालैका दिनहरुमा अनुसन्धानमा बजेट बृद्धि गरेको, सूचना प्रविधीलाई आत्मसात गर्दै पूर्वधार निर्माणलाई प्राथमिकतामा राखिएको, केन्द्रीय पुस्तकालयमा रहेका पाठ्य सामग्रीहरुलाई विद्युतिकरण गरी शिक्षक विद्यार्थीहरु समक्ष पुयाएको,संसारका उत्कृष्ट विश्वविद्यालयहरुसँगको प्रतिस्पर्धामा महत्वपूर्ण उपलब्धी हासिल गरेको, विश्वविद्यालयका सम्पूर्ण निकायहरुलाई इन्टरनेटको सञ्जालमा जोडने लगायतका महत्वपूर्ण उपलब्धी हासिल भएको बताउनुभएको थियो ।