Tribhuwan University
en np

अनुसन्धानात्मक  विशिष्टताका आधारमा नियुक्त प्राध्यापकहरुसँग अन्तरक्रिया 


त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध केन्द्रले प्राज्ञिक विशिष्टताका आधारमा त्रिवि सेवा आयोग मार्फत विश्वविद्यालयमा सेवा प्रवेश गरेको प्राध्यापक एवम् सहप्राध्यापकहरुसँग त्रिविका पदाधिकारीहरु र उच्चपदस्थ अधिकारीहरुविच अन्र्तक्रिया सम्पन्न गरेको छ । 
त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा त्रिविका  उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले प्राज्ञिक विशिष्टताका आधारमा विश्वविद्यालयमा प्रवेश गर्नुभएका प्राध्यापकहरुसँग संस्थाले अनुसन्धान,प्राज्ञिक उन्नयन र अन्तराष्ट्रिय सहयोग आदानप्रदानमा महत्वपूर्ण अपेक्षा राखेको धारणा व्यक्त गर्नुभयो । सिमित स्रोतसाधन,जिर्ण भौतिक अवस्थाका वावजुत विश्वविद्यालयलाई अनुसन्धानमा स्तरोन्नती गर्न योगदान गर्नसमेत आग्रह गर्नुभयो । विश्वविद्यालयले सरकारसँग मन्त्रालयहरुवाट हुने अनुसन्धानमा  विश्विद्यालयका  जनशक्तिलाई उपयोग गर्न आग्रह गरेको र “जी टु जी” मार्फत अनुसन्धान गराउने प्रक्रियाको थालनी हुने बताउनुभयो । उपकुलपति प्रा.डा बास्कोटाले अन्र्तक्रियामा सहभागी प्राज्ञिक विशिष्टताका आधारमा विश्वविद्यालय प्रवेश  गर्ने १८ खादा ओढाई सम्मान समेत गर्नुभएको थियो । 
त्रिभुवन  विश्वविद्याल सेवा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गरिमा उकास्दै विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउन प्राज्ञिक विशिष्टताका आधारमा  प्राध्यापकहरु चयन गर्ने व्यवस्था भएको बताउनुभएको थियो  । विदेशका विभिन्न संस्थाहरुमा संलग्न व्यक्तित्वहरुलाई अनलाइनको माध्यामवाट फर्म भरी अनलाइनवाटै छनौट गरी विश्वविद्यालयले नयाँ अभ्यास गरेको बताउनुभयो । “तपाईहरुसँग विश्वविद्यालय धेरै अपेक्षा गरेको छ विश्वविद्यालयलाई कसरी योगदान दिन सक्छु भनेर लाग्नुहोस” भन्दै अध्यक्ष प्रा.डा पौडेलले विश्वविद्यालयमार्फत मुलुकमा बौद्धिक पलायन रोक्ने महत्वपूर्ण प्रयास भएकोे बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले प्रतिष्ठित विश्वविद्यालय संगालेका प्राज्ञिक अनुभव र अनुसन्धानका विधिलाई हाम्रो अनुकुलतामा सफल प्रयोग गर्न आग्रह गर्नुभयो । त्रिभुुवन विश्वविद्यालयलाई अनुसन्धानात्मक विश्वविद्यालयको रुपमा रुपान्तरणगर्न सवैको योगदान आवश्यक रहेको भन्दै विश्वविद्यालयको नेतृत्वले आगामी दिनमा पूर्ण सहयोग उपलब्ध गराउने समेत बताउनुभयो । 
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले प्राज्ञिक उन्नयन र अनुसन्धानमा लाग्नुहुने प्राध्यापकहरुका लागि प्रशासन अवरोधको रुपमा नभई सरलीकरण गर्ने  माध्यामको रुपमा प्रस्तुत हुने बताउनुभयो । विश्वविद्यालय सेवामा कार्यरत कुनैपनि प्राध्यापकहरुलाई श्रेणीगत रुपमा नराखिएको उल्लेख गर्दै  विशिष्टताका आधारमा विश्वविद्यालयको सेवामा प्रवेश गर्नुभएकाहरुलाई उच्चमनोवलका साथ प्राज्ञिक एवम् अनुसन्धानका कार्यमा क्रियाशिल हुन सुझाव दिनुभएको थियो । 
त्रिभुवन विश्वविद्यालय अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशका प्रा.डा खडग के.सीले उत्कृष्ट विश्वविद्यालय एवम् संस्थाहरु अनुभव र अभ्यासवाट सिर्जित ज्ञानलाई त्रिभुवन विश्वविद्यालयमा उपयोग गरी विश्वविद्यालयको प्राज्ञिक उचाई बढाउन उपस्थित प्राध्यापकहरु समक्ष अनुरोध गर्नुभएको थियो। 
अन्र्तक्रिया कार्यक्रममा अनुसन्धानात्मक विशिष्टताका आधारमा त्रिवि सेवामा प्रवेश गर्नुभई  इन्जिनियरिङ् अध्ययन संस्थानका  कार्यरत डा.विष्णु पाण्डे, वनविज्ञान अध्ययन संस्थानमा कार्यरत किशोर, वनविज्ञान अध्ययन संस्थानमै कार्यरत  राजेश राई, प्राणीशास्त्र केन्द्रीय विभागका कार्यरत किशोर पाण्डे, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका कार्यरत डा.निर्मल पौडेल, पाटन संयुक्त क्याम्पसका कार्यरत डा.नारायण प्रसाद गैरे,रसायनशास्त्र केन्द्रीय विभागमा कार्यरत डा. अच्युत अधिकारी, भौतिक शास्त्र  केन्द्रीय विभागमा कार्यरत डा.निरज धिताल लगायतले आआफ्नो परिचयसाथै विषयविज्ञताका बारेमा त्रिवि उच्चपदस्थ पदाधिकारीहरु समक्ष जानकारी गराउनुभएको थियो ।