Sign Into Mailbox

त्रिवि सेडाको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) सम्पन्न

(Last Updated On: May 25, 2018)

कीर्तिपुर (१ जेठ)/त्रिभुवन विश्वविद्यालय अन्तरगत आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), कीर्तिपुरले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाएको छ ।

कीर्तिपुरमा आयोजित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं सेडाका संस्थापक कार्यकारी निर्देशक पशुपति शमसेर जबराले आफु सेडाको पहिलो कार्यकारी निर्देशक नियुक्त भएपछि विदेश पलायन भएका थुप्रै बौद्धिक व्यक्तित्वहरुलाई देशको आर्थिक तथा प्रशासनीक अनुसन्धानमा फर्काएको बताउनु भयो । सेडाले गरेका अनुसन्धानहरुबाट तत्कालीन अवस्थामा राज्यलाई निर्देशित गर्ने गरेको स्मरण गर्दै तालिम र अनुसन्धानको क्षेत्रमा सेडाको ठुलो योगदान रहेको उहाँले बताउनु भयो । अहिले पनि दिनप्रतिदिन विश्व बजारमा हुने उतारचढाव र विश्वव्यापी परिवर्तन भइरहँदा हाम्रो देशलाई कसरी आर्थिक विकासमा समृद्ध बनाउने भनेर यस संस्थाले अनुसन्धान गरी सरकारलाई सजग र सचेत पार्न सक्ने संभावना रहेको उहाँले औंल्याउनु भयो । जलस्रोत, जडिबुटी लगायत रणनीतिक स्रोत साधनहरुको अधिकतम् उपयोग गरी विश्व बजारमा देशको विकासको गतिलाई अगाडि बढाउन राष्ट्रिय योजना आयोगले सेडासंग सहकार्य गर्न जरुरी रहेको धारणा समेत व्यक्त गर्नुभयो । सरकारले त्रिभुवन विश्वविद्यालयलाई पर्याप्त बजेट दिन नसकेको अवस्थामा कीर्तिपुरमा रहेको जग्गा जमिनको मात्र अधिकतम् उपयोग गरेर आफैं पर्याप्त आम्दानी गर्न र अनुसन्धानको कार्यमा लगानी गर्न जबराले त्रिविलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले मुलुकको विकासको लागि सेडा र त्रिविको अहम् भुमिका रहेको उल्लेख गर्नुहुँदै सेडाको इतिहास, वर्तमान र भविष्यसंग सिँगो त्रिविको भविष्य जोडिएको बताउनु भयो । अनुसन्धान क्षेत्रमा पनि पहिले र अहिलेमा धेरै अन्तर रहेकोले प्रतिष्पर्धाको समय आइसकेको हुँदा सिर्जनशीलता अहिलेको आवश्यकता रहेको उहाँले औंल्याउनु भयो । सेडाले संसारका कुनै पनि विश्वविद्यालयसंग सहकार्य गरेर अनुसन्धानका कामहरु गर्न सक्ने हुँदा बजेट अभाव देखाएर अनुसन्धान कार्य रोक्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । बजेट ल्याउन सक्ने प्रस्तावहरु विश्व बजारमा ख्यातिप्राप्त विश्वविद्यालयहरुमा पठाएर अनुसन्धानका लागि सहकार्य गर्न चाहे त्रिविले सधै साथ सहयोग गर्ने उहाँले बताउनु भयो । कम्तिमा दश वर्षे योजनाका साथ काम गर्न शुरु गर्नुपर्ने बताउनु हुँदै उहाँले नेपाल सरकारले योजना आयोगमार्फत देशलाई आवश्यक आर्थिक विकासका सवालमा अनुसन्धानको जिम्मेवारी सेडालाई दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।


यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले अनुसन्धान केन्द्रहरुले गरेका अनुसन्धानहरुलाई सही ढँगले प्रयोग गरे मात्र देश विकासमा टेवा पुग्ने बताउनु भयो । सेडाबाट उत्पादित अनुसन्धान प्रतिवेदनहरुलाई सरकारले कुन कुन ठाउँमा उपयोग गरिरहेको छ भन्ने विश्लेषण गर्नुपर्ने बताउनु हुँदै उहाँले अनुसन्धान केन्द्रहरु सयौं संख्यामा स्थापना गरेर प्रतिष्पर्धामा उत्रनु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मोहनमान शैंजुले देशको राजनीतिक सामाजिक आर्थिक अवस्था परिवर्तनशील रहेकोले त्रिविका हजारौं दिक्षितहरुबाट संभावनाहरु खोजी पुरानो अनुभवबाट समय सापेक्ष अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।
सेडाका कार्यकारी निर्देशक अरुणकुमार ठाकुरले ५० औं वसन्त पार गर्दा संस्थापक कार्यकारी निर्देशकज्यूको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती मनाउन पाउँदा खुशी लागेको बताउनु हुँदै देशको हरेक आर्थिक विकासमा सेडाको अनुसन्धान मार्गदर्शक हुने गरेको बताउनु भयो । बौद्धिक समूहको प्रयोग देश विकासमा कसरी लगाउने भन्नेबारे सरकारले सेडालाई सम्झने गरेको स्मरण गर्दै त्रिविका चार वटै अनुसन्धान केन्द्रंहरु एक अर्कामा पर्याय रहेको बताउनु भयो । देश संघीय गणतन्त्रमा प्रवेश गरिरहँदा देशको आर्थिक, सामाजिक, पुनर्संरचनाको क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भनेर यो संस्थाबाट अनुसन्धानका थुप्रै अवसरहरु रहेको बताउनुहुँदै सरकारले यसको उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगमा मात्र सेडाबाट दश जनाको प्रतिनिधित्व भइसकेको बताउनुहुँदै उहाँले सरकार र योजना आयोगसंग त्रिवि र सेडालाई कसरी जोड्न सकिन्छ भनेर बहस गर्न जरुरी रहेको बताउनु भयो ।
यस्तैगरी कार्यक्रममा सेडाका पूर्व कार्यकारी निर्देशक प्रा.डा. रामचन्द्र ढकाल र हालै निवृत्त सह–प्राध्यापक राधेश्याम आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट सेवा गरेबापत दुई जना कर्मचारीहरु सुवर्ण सिं र कमला बास्कोटालाई सम्मान तथा यो वर्ष निवृत्त सहप्राध्यापकहरु राधेश्याम आचार्य, महेशराज जोशी, सन्तोषकुमार उपाध्याय र उपप्रशासक दिव्यप्रसाद गिरी सहित चार जनालाई अभिनन्दन गरिएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news