Sign Into Mailbox

प्रश्नपत्र निर्माण र व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न

(Last Updated On: May 7, 2018)

काठमाडौ (बैशाख २४)/परीक्षा सुधार तथा समन्वय परिषद्को आयोजनामा प्रश्न पत्र निर्माण तथा व्यवस्थापनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ ।
परीक्षा सुधार तथा समन्वय परिषद्का अध्यक्ष एवं त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षाध्यक्ष त्रिपाठीले विद्यार्थी मूल्याङ्कनमा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षणका तीन वटै चरणलाई व्यवस्थित गर्नुपर्ने, प्रश्न पत्र निर्माणकर्ता सम्पूर्ण प्राध्यापकहरुलाई जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रश्नपत्र निर्माणमा अन्तर्राष्ट्रिय अभ्यास र प्रश्नपत्र निर्माणका सिद्धान्तहरुलाई विज्ञहरुले आत्मसात गर्नुपर्ने बताउनुहुँदै उहाँले प्रश्नपत्रमा मौलिकता झल्कनुपर्ने र प्रश्नपत्रको विश्वासनियता कायम राख्न सक्नु पर्ने धारणा समेत व्यक्त गर्नुभयो । आगामी दिनमा हुने परीक्षाका लागि निर्माण गरिने प्रश्नपत्रहरु विद्यार्थीको ज्ञान, सीप र अभिवृत्तिका सबै पक्षलाई मापन गर्न सक्ने गरी पूरा पाठ्यक्रम समेटेर निर्माण गर्न निर्देशन दिनुहँुदै उहाँले नमूना प्रश्नपत्र अभ्यास समेत गराउनु भएको थियो ।
कार्यशालाको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नुहुँदै त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्का उपाध्यक्ष एवं त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले परीक्षा व्यवस्थापनमा थप नीति नियमको आवश्यकता औल्याउनु भयो । उहाँले त्रिविको पाठ्यक्रम, पाठ्याँश र प्रश्नपत्रबीचको समन्वयमा प्रश्नपत्र निर्माण गरिनुपर्ने, प्रश्न निर्माण गर्दा सम्बन्धित विषयका प्राध्यापकहरुबाट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविमा उच्च शिक्षाको गुणस्तर सुधारको आवश्यकता रहेको औंल्याउनुहुँदै उहाँले समय सापेक्ष पाठ्यक्रममा समेत परिमार्जन आवश्यक भएको बताउनु भयो । अध्ययन संस्थान तथा संकायका विषय समितिका अध्यक्षहरुबीच आपसी समन्वय हुनुपर्ने र प्रश्नपत्र निर्माणमा एक अर्काका अनुभव आदानप्रदान गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रश्नपत्र दोहोरिने, मौलिकता नपाइने, गाइड तथा गेसपेपरहरुमा मात्र विद्यार्थी केन्द्रित हुने प्रवृृत्ति हटाउनुपर्ने आवश्यकता भएकाले विद्यार्थीको पठन क्षमतालाई वृद्धि गर्न शिक्षण विधि र प्रविधिलाई संयोजन गर्नुपर्ने र प्रश्नपत्र निर्माणमा सुधार ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।


त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले समग्र परीक्षा प्रणाली र प्रश्नपत्र निर्माणमा देखिएका समस्याहरुमा सुधार गर्न कार्यशालाले महत्वपूर्ण दिशानिर्देश गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रश्नपत्र निर्माणका अन्तर्राष्ट्रिय सिद्धान्तहरु, प्रश्नपत्रहरु सम्बन्धमा विद्यार्थी तथा प्राध्यापकहरुको दृष्टिकोण, त्रिविको वर्तमान परीक्षा प्रणाली र प्रश्नपत्र निर्माणका विधि तथा प्रक्रियाहरु र अन्तर्राष्ट्रिय अभ्यासहरु सम्बन्धमा डा. रामचन्द्र पोख्रेल र डा. प्रेम फ्याकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सहभागीहरुलाई पाँच समूहमा विभाजन गरी छलफल गरिएको थियो । जसमा समूह छलफलको निष्कर्श विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विषय समितिका अध्यक्ष प्रा.डा. विनिल अर्याल, शिक्षा शास्त्र संकायको तर्फबाट विषय समिति अध्यक्ष अनुपकुमार श्रेष्ठ, मानविकी संकायका डिन प्रा.डा. शिवलाल भुषाल, व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा र कानुन संकायका डिन प्रा.डा. ताराप्रसाद सापकोटाले आ–आफ्नो समूहको प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यशालाले प्रश्नपत्र निर्माण गर्दा ज्ञान, बुझाई, प्रयोग र सिर्जनात्मक क्षेत्रलाई समेट्नु पर्ने, विद्यार्थीबाट मौलिकउत्तर आउने खालको प्रश्ननिर्माण गर्नु पर्ने, विषयगत अध्यापन गर्ने शिक्षकबाट प्रश्ननिर्माण गर्नु पर्ने, पाठ्यक्रममा उल्लेख भएको विषयवस्तु÷एकाइको भारलाई ध्यानदिनुपर्ने, प्रश्नपत्रनिर्माण गर्दानै उत्तर कुँजीका Answer Key निर्माण गरी उत्तर पुस्तिका परीक्षण गर्दा परीक्षकलाई उपलब्ध गराउनु पर्ने, शिक्षाशास्त्र संकायमा सोधिने वस्तुगत प्रश्नको बारेमा सोच्नु पर्ने, प्रश्नमा दुई प्रश्नको बीचमा अथवा (OR) नराख्दा हुने वा यदि राख्नु पर्ने भएमा सबैमा एकरुपता आउनु पर्ने, बढीमा कति प्रश्न सोध्नु पर्ने त्यसको सिमितता तोक्नु पर्ने, प्रश्नपत्र निर्माण लगायत परीक्षाका अन्य कार्यमा समय सापेक्ष पारिश्रमिक वृद्धि गर्नु पर्ने, विशिष्टिकरण तालिकाअनिवार्य निर्माण गर्नु पर्ने, प्रश्न निर्माण गर्दा ३ वर्षसम्म अगाडिको प्रश्न सँगसँगै पठाउने व्यवस्था गर्नु पर्ने, शिक्षण सिकाइमा सुधार नगरी परीक्षामा सुधार नहुने भएकोले शिक्षले पढाउने नभएर सिकाउनु पर्ने, विषय समितिको जिम्मेवारी उत्तरदायित्व बनाउनु पर्ने तथा अनुसन्धान शाखा स्थापना गर्नु पर्ने र नतिजा विश्लेषण गर्नु पर्ने जस्ता निष्कर्श एवं सूझावहरु आएका सह परीक्षा नियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।
कार्यशालाको उद्घाटन सत्र सह परीक्षा नियन्त्रक पशुपति अधिकारी र दोसं्रो सत्र सह परीक्षा नियन्त्रक विष्णुप्रसाद वाग्लेले सञ्चालन गर्नुभएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook