Sign Into Mailbox

त्रिवि व्यवस्थापन केन्द्रिय विभागको एलुम्नाई म्याराथन सम्पन्न

(Last Updated On: April 29, 2018)

कीर्तिपुर (१५ बैशाख)/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय केन्द्रिंय विभागको एलुम्नाई एशोसिएसनले आयोजना गरेको सिडिएम होमकमिङ विकइण्ड समारोहमा ५ किमि म्याराथन दौडको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, विशिष्ट अतिथिहरु त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनिया तथा मध्य पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले संयुक्त रुपमा गर्नुभयो ।


नेपालका वरिष्ठ धावक बैकुण्ठ मानन्धरको उपस्थितिमा १०७१ धावकहरुको सहभागिता रहेको ५ किमि म्याराथुनमा १६ मिनेट ३७ सेकेण्डमा दुरी पार गर्दै अजितकुमार यादव प्रथम, १८ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै सुबास थापा दोस्रो र १८ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै अजय तामाङ तेस्रो बिजेता बन्नुभएको थियो । यसैगरी महिलातर्फ मालती बस्नेत प्रथम मेरीना खरेल द्धित्तीय र निर्जला तण्डुकार तृतीय हुनुभएकाे थियाे । बिजेताहरुलाई प्रमुख अतिथिबाट ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि उपाध्यक्ष प्रा.डा. कँडेलले विश्वमा उत्कृष्ट विश्वविद्यालयहरुका एलुम्नाई एशोसिएसनहरु विश्वविद्यालयको योजना निर्माण, आर्थिक स्रोत संकलन, व्यवस्थापनमा अग्रणी रहने गरेको उल्लेख गर्नुहुँदै योजना आयोगले देश विकासको लागि मुल रुपमा शिक्षाको विकासमा योजनाहरु बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले अहिले नेपालको भौगोलिक संरचना बदलिएको परिप्रेक्षमा योजना आयोगले बजेट बाँड्ने मात्र भन्दा पनि नीति बाँड्ने कुरामा प्राथमिकता दिएर अगाडि बढ्ने बताउनु भयो । उहाँले अब योजना आयोगले अनुसन्धानमुलक कार्यक्रमहरु तयार गरेर त्रिविका विभिन्न विभागहरुसंग सम्झौता गरेर सञ्चालन गर्ने र त्यसको लागि सबै विभागहरुकमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।


वर्तमान शिक्षा पद्धतीलाई अनुसन्धानमुलक शिक्षामा रुपान्तरण गरेर मात्र विश्वविद्यालयहरुले देश निर्माणको कार्यमा दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो । नेपालमा शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापकहरुलाई भन्दा राजनीतिक व्यक्तित्वहरुलाई प्राथमिकता दिने संस्कार भएको बताउँदै उहाँले यो दृष्टिकोणमा सुधार भई शिक्षक प्राध्यापकहरुले सम्मान पाउनु पर्ने बताउनु भयो ।
गुणस्तरीय अनुसन्धान गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उहाँले नेपालको उच्च शिक्षाको क्षेत्रमा त्रिविले ठुलो हिस्सा ओगटेको हुँदा शिक्षा क्षेत्रको सुधार गर्ने हो भने पहिले त्रिविलाई सुधार गर्दै समक्ष बनाएर लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । सम्पूर्ण शिक्षा प्रणालीलाई सुधार गर्न मुल सोचका साथ राष्ट्रिय योजना आयोगमा काम गर्ने आफ्नो सोचाइ रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा मध्य पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले त्रिवि व्यवस्थापन केन्द्रिय विभागले उत्पादन गरेका विद्यार्थीहरुमध्येबाट पहिलो पटक अहिले योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी आएको बताउनु हुँदै देशकै योजना निर्माणमा अरुको भन्दा पृथक तरिकाले महत्वपूर्ण कार्य सम्पादन हुने विश्वास रहेको धारणा व्यक्त गर्नुभयो । त्रिविमा ३९ वटा विभाग रहेको उल्लेख गर्दै उहाँले सबै विभागहरु समान रहेको तर व्यवस्थापन केन्द्रिंय विभाग ती सम्पूर्ण विभागहरु भन्दा भिन्न र विशिष्ट रहेको बताउनु भयो । आफ्नो जन्म भुमि र अध्ययन गरेको शिक्षण संस्था आफ्नै आमासरह हुने बताउँदै उहाँले मातृभुमिमा बसेर देश विकासमा योगदान गर्नु हाम्रो कर्तव्य रहेको धारणा समेत व्यक्त गर्नुभयो । दिउँसै सपना देख्ने विद्यार्थीले एक दिन सपना पुरा गर्न सक्ने बताउनु हुँदै उहाँले बिदेशमा भएर पनि एलुम्नाईमार्फत देश विकासमा सहयोग गर्न सकिने बताउनुभयो ।
त्रिवि एलुम्नाई एशोसिएसनका अध्यक्ष प्रा.डा. सुनिति हाडा श्रेष्ठले विदेशमा झैं आफुले पढेको विश्वविद्यालयको लागि एलुम्नाई सदस्यहरुले योगदान गर्न सक्ने चर्चा गर्नुहुँदै त्रिविका सम्पूर्ण पूर्व विद्यार्थीहरुका लागि त्रिवि एलुम्नाई एशोसिएसन गठन भइसकेकोले अब विभाग हुँदै सिँगो त्रिविको विकासको लागि हामीले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


एशोसिएसनका सल्लाहकार डा. हेमन्त श्रेष्ठले आफुले अमेरिकाबाट फर्केर सिडिएम एलुम्नाई स्थापनाको लागि योजना बनाएको बताउनुहुँदै आफु पढेको विश्वविद्यालयमा आफ्नो परिवारलाई ल्याएर देखाउने संस्कारको विकास गर्न एलुम्नाईले पुलको भुमिका गर्ने विश्वास व्यक्त गर्नुभयो ।
हामीले देशविदेश घुमेर संसार हेरिसकेका छौं तर आफ्नै जन्म र कर्म थलोलाई हेर्न भ्याएको छैनौं । त्यसैले एलुम्नाइमार्फत पुनः घर फर्क अभियान झंै देश निर्माणमा हामीले पनि योगदान गर्न सकियोस् भन्ने उद्देश्य यसको रहेको बताउनु भयो ।
कार्यक्रममा व्यवस्थापन केन्द्रिय विभागबाट अवकाशप्राप्त प्राध्यापकहरु प्रा.डा. राधेश्याम प्रधान, प्रा.डा. सुनिति श्रेष्ठ, प्रा.डा. पुष्पराज कँडेल, प्रा.डा. उपेन्द्रकुमार कोइराला र प्रा.डा. पुस्करमान बज्राचार्यलाई सम्मान गरिएको थियो ।
सिडिएम एलुम्नाई एशोसिएसनका सदस्य सह प्राध्यापक अच्युत ज्ञवालीले अतिथिहरुलाई स्वागत गर्नुहुँदै पूर्व विद्यार्थीहरुबाट विभागप्रति माया, ममता र स्नेह आदानप्रदान गर्दै निरन्तर सम्पर्कमा रहिरहने र असल सम्बन्ध स्थापना गर्दै विभागको विकास र अनुसन्धानका कार्यमा सहकार्य र हातेमालो गर्नका लागि सिडिएम एलुम्नाई एशोसिएसन स्थापना गरेको स्पष्ट पार्नुभयो । यसको लागि संस्थागत सुशासन, इमान्दारिता, नैतिकता, पारदर्शीता, जवाफदेहिता कायम राख्नु मुख्य चुनौती रहेको पनि उहाँले बताउनु भयो ।
धन्यवाद ज्ञापन गर्नुहुँदै विभागीय प्रमुख प्रा.डा. भोजराज अर्यालले व्यवस्थापन विभाग त्रिविमा शिक्षाको जननी भएको बताउनु भयो । उहाँले ५० वर्षदेखि यो विभाग एउटै भवनमा सञ्चालित भइरहेको जानकारी दिनुहुँदै नयाँ सोच र नयाँ संभावनाका साथ ५८ वर्षदेखिका पूर्व विद्यार्थीहरुलाई सञ्जालमा जोड्न चाहेको र आगामी पाँच वर्षमा विभागलाई फाइभ स्टार सुविधासम्पन्न विभाग बनाउने लक्ष्य रहेको बताउनुभयो ।
सो अवसरमा वार्षिक रुपमा ३ जना उत्कृष्ट विद्यार्थीहरुलाई जनहि ६० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने र ५ जना विद्यार्थीको लागि जनहि ३० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक र व्यवस्थापन संकाय केन्द्रिंय विभागबीच सम्झौतामा हस्ताक्षर गरिएको छ ।
एलुम्नाई एशोसिएसनका अध्यक्ष प्रा.डा. भवानी शंकर आचार्यले सिडिएम एलुम्नाई स्थापना गर्नुको मुल नारा संगै जाऔं, अनुभव आदानप्रदान गरौं र एउटै परिवारझैं एक आपसमा राम्रो सम्बन्ध स्थापना गरांै भन्ने रहेको उहाँले बताउनु भयो । विश्वमा उत्कृष्ट विश्वविद्यालय हुन चाहिने तीन वटा सूचकहरु गुणस्तरीय शिक्षा, लोकप्रियता र एउटा सूचक एलुम्नाईको क्रियाशिलता पनि रहेको हुँदा अब त्रिविलाई अन्तर्राष्ट्रिय स्तरमा अग्रणी बनाउन यसले योगदान गर्ने बताउनु भयो । उहाँले यो पारिवारिक एलुम्नाई भएको बताउनुहुँदै सबैले आफ्नोपन महशुष गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । त्रिवि एलुम्नाई एशोसिएसनलाई आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news