Sign Into Mailbox

त्रिवि मनमोहन कार्डियो सेन्टर सफलताको नवौं बर्षमा

(Last Updated On: April 26, 2018)

काठमाडौं/वैशाख १३
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर सफलतालाई पछ्याउदै नवौं बर्षमा प्रवेश गरेको छ ।


पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीको पुन्य तिथिका दिन आफ्नो बार्षिक दिवस मनाउदै आइरहेको यस सेन्टरको महाराजगञ्जस्थित सेन्टर परिसरमा आयोजित वार्षिक दिवस कार्यक्रमलाई आज सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले कार्डियो सेन्टरले गरेको उल्लेखनीय प्रगतिको खुलेर प्रशंसा गर्नुभयो । उहाँले चिकित्साशास्त्र अध्ययन संस्थानलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन आफूले जति सक्दो सहयोग उपलब्ध गराउदै आइरहेको जानकारी गराउनुभएको थियो ।


चिकित्साशास्त्र अध्ययन संस्थानबाट माग भई आएका अधिकांश विषयहरुमा त्रिवि सकारात्मक रहेको र त्यसको कार्यान्वयनका लागि सहयोगी बनिरहेको भन्दै अस्पतालमा कार्यरत प्राध्यापकहरुको उन्नयनको लागि छिट्टै नै विज्ञापनबाट सम्बोधन गरिने समेत बताउनुभएको थियो ।


अध्ययन संस्थानलाई थप स्वायत्तता दिने र यसको गरिमालाई मजबुत बनाउन प्रयत्नशील रहँदा पनि अध्ययन संस्थान विश्वविद्यालयसँग स्वायत्तता मागेर अन्य कुनै निकायलाई स्वायत्तता हस्तान्तरण गर्ने त होइन? भन्ने आंशका उत्पन्न भएको उहाँले बताउनुभयो । त्रिवि चिकित्सा शिक्षाको सुधार गर्ने र व्यवस्थित गर्ने विषयमा गम्भीर भइरहेको भन्दै संस्थागत सञ्चार समन्वयलाई सृदृढ पार्न सम्बन्धित सबै पक्षहरु सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।


चिकित्साशास्त्र अध्ययन संस्थानबाट माग भई आएका अधिकांश विषयहरुमा त्रिवि सकारात्मक रहेको र त्यसको कार्यान्वयनका लागि सहयोगी बनिरहेको भन्दै अस्पतालमा कार्यरत प्राध्यापकहरुको उन्नयनको लागि छिट्टै नै विज्ञापनबाट सम्बोधन गरिने समेत बताउनुभएको थियो ।
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले मनमोहन कार्डियो सेन्टरले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै खुला विज्ञापन एवं आवधिक पदोन्नतिका विषयमा सेवा आयोगले कार्यकारी परिष्दबाट स्वीकृतिको पत्र प्राप्त हुन साथ प्रक्रियामा अघि बढाउने जानकारी गराउनुभयो । उहाँले त्रिवि सेवामा आकर्षण बढाइ रहन त्रिवि सेवा आयोगको कार्यविधिलाई थप व्यवस्थित एवं वैज्ञानिक बनाउन समेत आफूहरु लागिपरेको बताउनुभएको थियो ।
बार्षिक दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कार्डियो सेन्टरले त्रिविकै अनुकरणिय संस्थाको रुपमा आफनो विशिष्ट पहिचान कायम गर्न सकेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीलाई स्मरण गर्दै सामाजिक सुरक्षाको अवधारणालाई स्थानीय निकायसम्म पु¥याएर शासन प्रक्रियालाई जनमुखी बनाउन स्व. अधिकारीले लिनुभएको पहलले प्रत्येक नेपाली नागरिकलाई प्रेरित गरिरहेको उहाँले बताउनुभयो । मनमोहन कार्डियो सेन्टरले आर्थिक पारदर्शिता कायम गर्दै आफूलाई स्तरोन्नति गर्दै लैजान सकेकोमा व्यवस्थापनमा आबद्ध सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सेन्टरको विकास एवं सृदृढिकरणको लागि थप योगदान गर्न तयार रहेको धारण समेत उहाँले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कार्डियो सन्ेटरको बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले गत आर्थिक वर्षमा ३ लाख पर्ने अन्तराष्ट्रिय गुणस्तरको १५ वटा बेड खरिद गर्न सफल भएको, १६ सय वटा मेजर अपरेसन गर्न सफल भएको एवं ११ सय १६ वटा क्याथ ल्यावसँग सम्वन्धित चिकित्सा सेवा उपलब्ध गराएको उल्लेख गर्नुभयो । उहाँले गरिब एवं विपन्न नागरिकहरुलाई १३ करोड बराबरको निःशुल्क सेवा उपलब्ध गराएको, आफनै अस्पतालभित्र नमुना फार्मेसी सञ्चालन गरी ६ करोड वार्षिक आम्दानी गर्न सफल भएको र ३० करोडको लगानीमा मनमोहन एनेक्स सेन्टर निर्माण कार्य अघि बढेको बताउनुभयो । नौ करोडको लगानीमा आधुनिक क्याथ ल्याव निर्माण गर्न लागिएको भन्दै उहाँले आफूहरु महत्वाकांक्षी योजनाहरु निर्माणका साथ त्यसको कार्यान्वयनमा क्रियाशिल रहेको बताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन एवं वरिष्ठ कार्डियोसर्जन प्रा.डा.अरुण सायमीले स्व.मनमोहन अधिकारीलाई स्मरण गर्दै जीवनको अन्तिम समयसम्म राष्ट्रको सेवा गर्ने उहाँको प्रणलाई जीवनमा आत्मसाथ गर्न सके देश प्रगतिको पथमा अग्रसर हुने बताउनुभयो । मनमोहन कार्डियो सेन्टर सामुहिक कार्यले सफल हुदै गइरहेको भन्दै उहाँले सेन्टरको उन्नतिमा योगदान गर्नुहुने सबै नीतिगत क्षेत्रका पदाधिकारीहरुमा धन्यवाद व्यक्त गर्नुभएको थियो । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिपकप्रकाश महराले कार्डियो सेन्टरलाई नवौं वसन्त पार गरेकोमा शुभकामना व्यक्त गर्नुहुदै शिक्षण अस्पतालले पनि पछिल्लो समय आफुलाई समयसापेक्ष सुधार गर्दै लगिरहेको जानकारी गराउनुभयो । शिक्षण अस्पतालमा हाल तलवबै खुवाउन नसकिने अवस्थाबाट निकै सुधारात्मक अवस्थामा पुगिसेकको भन्दै उहाँले जापानी सहयोगी संस्था (जाइका) को सहयोगमा एक अर्ब बराबरको उपकरण अस्पतालले प्राप्त गर्न लागेको जानकारी समेत गराउनुभएको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ एवं त्रिवि शिक्षण अस्पातलका पूर्व कार्यकारी निर्देशक प्रा.डा. भगवान कोइरालाले यो संस्थाले उपचार एवं स्वास्थ्य सेवा उपलब्ध गराउनुको साथै चिकित्सकहरुले चिकित्सा शिक्षाको अनुसन्धानमा पनि संलग्न हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । संस्थागत परामर्श एवं छलफलको अभावमा कतिपय विषयहरु विषयान्तर हुने र विरोधाभाषको अवस्था सिर्जना हुने हुँदा संस्थागत सम्पर्कलाई व्यवस्थित पार्न समेत अस्पताल एवं विश्वविद्यालयका पदाधिकारीहरु समक्ष अनुरोध गर्नुभएको थियो ।


वार्षिक दिवस समारोहमा त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले कार्डियोसेन्टरको बार्षिक प्रतिवेदन एवं रजिष्ट्रार डिल्लीराम उप्रेतीले सेन्टरको वार्षिक भित्तेपात्रोको सार्वजनिकरण गर्नु भएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news