Sign Into Mailbox

क्याम्पसको नवनिर्मित भवन उद्घाटन

(Last Updated On: April 22, 2018)

राजविराज(७ बैशाख)/त्रिभुवन विश्वविद्यालय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजको नवनिर्मित प्रशासनीक तथा पुस्तकालय भवन एक समारोहका बीच त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समुद्घाटन गर्नुभयो ।

क्याम्पसकाे नवनिर्मित भवन

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि उपकुलपति प्रा.डा. खनियाले विन्देश्वरी बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा सिंगो देशलाई नेतृत्व गर्ने बौद्धिक व्यक्तित्वहरु उत्पादन गरेर अग्रणी भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । प्रदेश नं. २ का कुनै पनि क्याम्पसहरुलाई त्रिविले छोड्न नचाहेको बताउनुहुदै उहाँले राजर्षि जनक विश्वविद्यालय यो प्रदेशमा नयाँ विश्वविद्यालयको रुपमा स्थापना गर्ने सरकारले निर्णय गरिसके पनि त्रिविको कुनै पनि आङ्गिक क्याम्पसहरु नयाँ विश्वविद्यालयमा जानु नपर्ने स्पष्ट पार्नुभयो ।

समुद्घाटन समाराेहमा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरु

त्रिविका क्याम्पसहरुलाई आधार क्याम्पस मानेर खोल्न लागिएको विश्वविद्यालयको बारेमा सबै पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीबाट ऐन संशोधन गरेर समस्या समाधान गर्ने आश्वासन पाएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको आकर्षण रहेका विषयहरु थप गर्न र स्वायत्ततामा जान चाहेमा क्याम्पसको माग बमोजिम स्वीकृति प्रदान गर्न विश्वविद्यालयले नीति नै तय गरेको पनि जानकारी गराउनुभयो । वार्षिक प्रणाली अनुरुप विद्यार्थी भर्ना गर्दा वास्तविक विद्यार्थी संख्या यकिन गर्न नसकिएको बताउनु हुँदै उहाँले सेमेस्टर प्रणाली अन्र्तगत कानुन संकायमा पाँच सय कोटा तोकिए पनि नियमित कक्षामा आउने विद्यार्थी बढि भएमा कोटा थप गरेर विद्यार्थीको माग पुरा गर्न छलफल गर्न सकिने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विशिष्ट अतिथि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले त्रिविका प्राध्यापकहरुले प्राध्यापनसंगै आफ्नो व्यक्तिगत प्राज्ञिक उन्नयनका लागि अनुसन्धानका कार्यहरुमा संलग्न हुनुपर्ने बताउनु भयो । त्रिविले अनुसन्धान केन्द्रमा १५ करोडको अक्षय कोष स्थापना गरिसकेको जानकारी दिनुहुँदै त्यसको कार्यविधि बनाएर लघु अनुसन्धानका लागि सहयोग गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

प्रदेश नं. २ मा नयाँ विश्वविद्यालय स्थापना गर्न गत वर्ष सरकारले ऐन पारित गरेको सन्दर्भमा उहाँले आङ्गिक क्याम्पसहरुलाई गाभेर नयाँ विश्वविद्यालय स्थापना गर्ने सरकारको कदम त्रिविमाथिको हस्तक्षेप भएको बताउनु भयो । उहाँले पुरानै शैक्षिक कार्यक्रम राखेर पुरानै क्याम्पसलाई नयाँ विश्वविद्यालय गर्नुको कुनै औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो । विश्वविद्यालयका सबै पदाधिकारीहरुले तीन वटै क्याम्पसलाई जोगाउन पहल गरिरहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा प्राध्यापक संघका तर्फबाट उपप्राध्यापक राजिवकुमार मिश्र, कार्यक्रम सञ्चालक डा. शिवनारायण यादव, स्ववियू सभापति रामचन्द्र यादव लगायतले लामो समयदेखि महिला छात्रावास भवन क्याम्पसलाई हस्तान्तरण गराउन नसकिएको लगायत विद्यार्थीका शैक्षिक समस्याहरुबारे पदाधिकारीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. सर्वेश्चन्द्र मिश्रले उपकुलपति प्रा.डा. तीर्थराज खनियालाई अभिनन्दन पत्र प्रदान गर्नुका साथै शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी, परीक्षा नियन्त्रक पुष्पराज जोशी, परीक्षा उप नियन्त्रक अर्जुन विक्रम खड्का लगायत विशिष्ट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समारोहका बीच क्याम्पसमा अध्यापनरत आँशिक शिक्षकहरुले उपकुलपतिसमक्ष विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
क्याम्पसको अनुगमनको क्रममा एम.ए. सोसोलोजी विषयको परीक्षा सञ्चालनको समेत उपकुलपति, शिक्षाध्यक्ष एवं परीक्षा नियन्त्रक लगायतले निरीक्षण गर्नुभएको थियोे ।
क्याम्पसको भवन ९४ लाखको लागतमा निर्माण सम्पन्न भएको क्याम्पस प्रमुख मिश्रले जानकारी दिनुभयो । कार्यक्रमको प्रारम्भमा क्याम्पसलाई ११७ विघाहा, १७ कठ्ठा, १७ धुर जग्गा दान गर्ने दानवीर स्व. विन्देश्वर प्रसाद सिंह यादवको शालिकमा उपकुलपति लगायत अतिथिहरुबाट माल्यार्पण गर्नुभएको थियो ।

दानवीर जग्गादाता स्व. विन्देश्वर प्रसाद सिंह यादवकाे सम्मानमा माल्यार्पण गर्नुहुँदै उपकुलपति प्रा‍डा तीर्थराज खनिया

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news