Sign Into Mailbox

त्रिविको दश वर्षे भिजन निर्माण हुने

(Last Updated On: April 22, 2018)

विराटनगर (७ बैशाख)/त्रिभुवन विश्वविद्यालयको नीति प्रसार तथा कार्यान्वयन विषयक कार्यशाला गोष्ठि आज विराटनगरमा उद्घाटन भएको छ । कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताउनु भयो ।

समाराेहलाई सम्बाेधन गर्नुहुँदै उपकुलपति प्रा‍डा तीर्थराज खनिया

उच्च शिक्षा सुधार परियोजनाको तत्वावधानमा त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे क्याम्पस प्रमुखहरुसंग छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उपकुलपति प्रा.डा. खनियाले नमूना विश्वविद्यालयको रुपमा संसारमा उत्कृष्ट हजारभित्र त्रिभुवन विश्वविद्यालयलाई पार्न आफ्नो कार्यकालमा प्रयत्न गरिने बताउनु भयो । उहाँले त्रिविसंग अथाह संभावना र सवल पक्ष रहे पनि त्यसको उपयोग गर्न र प्रचारप्रसार गर्न नसकिएको बताउनु भयो ।
अब विश्वविद्यालयलाई सकेसम्म प्रविधिमैत्री प्रशासनमा रुपान्तरण गर्दै सकेसम्म पेपरलेस नभएपनि लेस पेपर प्रयोग गर्ने प्रक्रियाको टेक्नोलोजिमा लैजानुपर्ने आवश्यकता रहेको उपकुलपति प्रा.डा. खनियाले बताउनु भयो ।
उहाँले विद्यार्थीमाझ त्रिविको छवि सुधारको लागि अब परीक्षा नियन्त्रण कार्यालयमा अनलाईनबाट काम हुने व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्रिवि परीक्षा नियन्त्रण कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गर्ने र विद्यार्थीका समस्या समाधानको लागि कार्य गर्ने जानकारी दिनुहुँदै परीक्षा नियन्त्रण कार्यालयकै परिसरमा उपकुलपति कार्यालयको सम्पर्क कार्यालय स्थापना गर्न लागेको समेत जानकारी दिनुभयो ।
त्रिविमा वार्षिक प्रणालीमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थी संख्या धेरै देखिए पनि सेमेस्टर प्रणाली लागु भएपछि वास्तविक विद्यार्थीहरुको तथ्याँक आइरहेको बताउनुहुँदै उहाँले नीति निर्माण तहबाट निर्माण भएका नियम कानुनहरु कार्यान्वयन गर्ने तहमा क्याम्पस प्रमुखहरुको जिम्मेवारी र भुमिका महत्वपूर्ण रहेको हुँदा दोहोरो सम्वादको माध्यमबाट नीति कार्यान्वयन गर्न सहजता प्रदान गर्न कार्यक्रमको आयोजना गर्नुपरेको धारणा समेत व्यक्त गर्नुभयो । कतिपय क्याम्पसहरुमा पठनपाठन हुने विषयहरुमा विद्यार्थी संख्या न्यून रहेकोमा विद्यार्थीले किन विषय छोडे भनेर सम्बन्धित विषय शिक्षकले समिक्षा गर्नुपर्ने अवस्था आइरहेको बताउँदै उहाँले विद्यार्थीले छोडेका विषय शिक्षकहरुलाई त्रिविले पनि छोड्दै जानुपर्ने बाध्यता रहेको बताउनु भयो ।
अब त्रिविको सेवामा प्रवेश गर्न शिक्षक प्राध्यापकहरु सबैको लागि कम्प्युटरको आधारभुत ज्ञान अनिवार्य गरेर कार्यविधि संशोधन गर्न लागिएको जानकारी समेत गराउनु भयो ।
अन्य विश्वविद्यालयहरुसंग शैक्षिक गुणस्तरका लागि समन्वय र सहकार्यमा क्याम्पसहरुले कुनै पनि प्रकारको अनुसन्धानमुलक कार्य र प्राज्ञिक गतिविधि गरे विश्वविद्यालयले त्यसलाई प्रोत्साहन गर्न तयार रहेको जानकारी गराउनु भयो ।
त्रिविमा क्रियाशिल विद्यार्थी संगठनहरुलाई स्ववियु निर्वाचन गराउँदा २८ वर्षे उमेरहद तोकेर कार्यान्वयन गराउन सकिएकोले हाल विद्यार्थीहरुसंग सम्वाद र सहकार्य सहज भएको उहाँले बताउनुभयो । यस्तै कर्मचारी संगठनको निर्वाचन सम्पन्न भइसकेको र चाँडै प्राध्यापक संघको समेत निर्वाचन गराउन नेतृत्व तहको मागमा अधिकतम् लचकता अपनाईएको जानकारी दिनुहुँदै उहाँले नयाँ नेतृत्वसंग त्रिविमा सुधारका लागि नयाँ ढँगले सहकार्य गरेर अगाडि जाने बताउनुभयो ।
परीक्षाको नतिजा प्रकाशनमा हुने ढिलाईबारे विद्यार्थीबाट अधिक गुनासो आउने गरेकोमा नतिजा प्रकाशन समयमा नै गराउन आवश्यक पहल गर्न र विद्यार्थीका गुनासा समस्याहरुको समाधानमा अधिक प्रयत्न गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई उहाँले निर्देशन दिनुभयो । परीक्षाको गुणस्तर कायम राख्न कुनै सम्झौता नगरिने बताउँदै उहाँले नतिजा प्रकाशनलाई नौ महिनाबाट घटाएर चार पाँच महिनाभित्र नतिजा आउने वातावरण बन्दै गएको जानकारी दिनुभयो ।
देशमा निर्वाचन सम्पन्न भएर सरकारमा नयाँ नेतृत्व र स्पिरिट आएको सन्दर्भमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने कुरामा त्रिभुवन विश्वविद्यालयको पनि प्रतिबद्धता रहेको उहाँले बताउनु भयो ।
भुकम्पपछि क्षतविक्षत अवस्थामा पनि त्रिविले आफ्नो सबै प्रशासनिक र शैक्षिक गतिविधिहरुलाई निरन्तर गर्न सकेको उल्लेख गर्दै क्रमशः नयाँ भवनहरु पुनःर्निर्माण हुँदै गइरहेको र हालै मात्र शिक्षाध्यक्षको कार्यालय नयाँ कार्यालय भवनमा सरिसकेको जानकारी दिनुहुँदै अब छिटै उपकुलपति कार्यालय पनि नयाँँ भवनमा स्थानान्तरण हुने बताउनु भयो ।
त्रिविलाई विभिन्न मापदण्डहरु पुरा गर्दै विश्वकै उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र पार्न आफ्नो कार्यकालमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा. खनियाले त्यसको लागि सबै आँगिक क्याम्पसका क्याम्पस प्रमुखहरुबाट त्रिविका नीति नियम कार्यान्वयन गर्दै गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालनमा प्रभावकारी भुमिका खेल्न अनुरोध गर्नुभयो ।

कार्यशालामा सहभागिता जनाउनुहुँदै क्याम्पस प्रमुखहरु एव‌ डिनहरु

कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले विद्यावारिधि उपाधिलाई गुणस्तरीय बनाउन पहल भइरहेको बताउनु भयो । वर्तमान शैक्षिक कार्यक्रमको गुणस्तर मापन गर्ने संयन्त्र खडा भइसकेकोले सबै क्याम्पसको शैक्षिक कार्यक्रमलाई अब गुणस्तर प्रमाणित गरेर अगाडि बढ्न आँगिक क्याम्पस प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले परीक्षा सञ्चालन प्रणालीमा सुधार आवश्यक भएको हुँदा प्रश्नपत्र निर्माण तहदेखि नै अभिमुखीकरण जरुरी भएको बताउनुभयो । सेमेस्टर प्रणालीले अब कक्षाकोठामा शिक्षक विद्यार्थीको उपस्थिति अनिवार्य हुने हुँदा गुणस्तरीय शिक्षाको लागि यसले मद्धत गर्ने धारणा व्यक्त गर्नुभयो । क्याम्पसहरुले स्वायत्ततामा जानु भनेको आर्थिक सहयोग प्राप्त गर्नु मात्र नभई शैक्षिक गुणस्तर प्रत्याभुत गराउन सक्नु पर्छ भन्ने मान्यतालाई सबै क्याम्पस प्रमुखहरुले आत्मसात गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नेपालको उच्च शिक्षामा ८० प्रतिशत योगदान गरेको त्रिविले अबका दिनमा विद्यार्थीले चाहेको र समाजको आवश्यकता अनुसार गुणस्तर कायम गर्न प्रविधिमैत्री बन्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्रिवि नेतृत्वले नीति निर्माण गर्ने र त्यसको कार्यान्वयन तह क्याम्पसहरु भएकोले क्याम्पस प्रमुखहरुको भुमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । त्रिविले पछिल्लो समय अंगिकार गरेको नीति, देशभर लागु गरिएको सेमेस्टर प्रणाली कार्यान्वयनमा आएपछि क्याम्पसमा नीति कार्यान्वयनमा देखिएका समस्याहरु र समाधानका उपायहरुबारे कार्यशालाबाट महत्वपूर्ण सूझावहरु आउने अपेक्षा राख्नुभयो ।

कार्यशालालाई सम्बाेधन गर्नुहुँदै त्रिवि रजिष्ट्रार डिल्लीराम उप्रेती

कार्यक्रमको औचित्य र उद्धेश्यबारे प्रकाशन पार्नुहुँदै योजना निर्देशनालयका प्रमुख प्रा.डा. ऋदिशकुमार पोखरेलले त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे क्याम्पस प्रमुखहरुसंग छलफल अन्तरक्रिया गरिने बताउनु भयो ।
उच्च शिक्षा सुधार परियोजनाका संयोजक प्रा. शंकर भण्डारीले त्रिविको शैक्षिक नतिजा अन्तर्राष्ट्रिय स्तरको बनाउन उच्च शिक्षाको सुधार आवश्यक भएको बताउनु भयो । त्रिविले सिँगो शैक्षिक संरचनालाई नै परिमार्जन र सुधार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भण्डारीले औंल्याउनुभयो । शैक्षिक गुणस्तर बढाउने लक्ष्य रहेको बताउँदै उहाँले परीक्षाफल प्रकाशनलाई पनि छिटो गर्न गराउन सुधारका कामहरु भइरहेको र पाठ्यक्रम परिमार्जन एवं सेमेस्टर प्रणालीको प्रभावकारी कार्यान्वयनको लागि परियोजनामार्फत काम अगाडि बढाईएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विज्ञहरुबाट त्रिविका नीति नियमसम्बन्धी विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिनेछ । कार्यक्रममा त्रिविका प्रदेश नं. १, २ र ३ का २० वटा आंगिक क्याम्पसहरुबाट क्याम्पस प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news