Sign Into Mailbox

TU Alumni Association

त्रिवि एलुम्नाईको सदस्यता वितरण शुरु
काठमाडौ (२८ चैत्र)/त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरुलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमुलक कार्यक्रमहरु विस्तारको लागि योगदान गराउन त्रिवि एलुम्नाई एशोसिएसन गठन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को निर्णय बमोजिम प्रा.डा. सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
एशोसिएसनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई एक कार्यक्रमका बीच प्रदान गरिएको छ । हालसम्म तीन दर्जन बढि एलुम्नाईहरुलाई सदस्यता वितरण भइसकेको छ ।
यसैबीच त्रिविका पूर्व उपकुलपति केदारमक्त माथेमालाई एक कार्यक्रमका बीच हालै त्रिवि एलुम्नाई एशोसिएसनको आजीवन सदस्यता प्रदान गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको उपस्थितिमा एशोसिएसनका अध्यक्ष सुनिती हाडा श्रेष्ठले माथेमालाई सदस्यता प्रदान गर्नुभएको थियो । उक्त अवसरमा त्रिविका पूर्व उपकुलपति माथेमाले त्रिवि एल्मुनाई एशोसिएसनलाई अझै धेरै संस्थागत गरेर ठोस कार्ययोजना सहित अगाडि बढेमा देश विदेशमा रहने त्रिवि एल्मुनाईहरुबाट आर्थिक एवं प्राज्ञिक दुवै किसिमको साथ सहयोग मिल्न सक्ने सुझाव दिनुभयो । त्यस्तै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटाले एशोसिएसनको आजीवन सदस्यता ग्रहण गर्दै आफु पनि त्रिविको एलुम्नाई भएकोले आफु अध्ययन गरेको विश्वविद्यालयप्रति सदा अपनत्वको भावना रहने हुँदा आजीवन सदस्य बनेको बताउनु भयो । उहाँले त्रिविमा सूचनाको हकको प्रचलन र प्रवद्र्धनका लागि एलुम्नाई एशोसिएसनले कार्ययोजना ल्याए राष्ट्रिय सूचना आयोग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । यस्तै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले सदस्यता ग्रहण गर्दै त्रिवि एलुम्नाईले त्रिविमा प्राज्ञिक अनुसन्धानमुलक गतिविधि बढाउन संस्थागत सहयोग गर्ने अपेक्षा रहेको बताउनु भयो ।
त्रिवि एलुम्नाई एशोेसिएसनले यहि चैत्र महिनादेखि त्रिविका सबै पूर्व विद्यार्थीहरुलाई आजीवन सदस्यता खुल्ला गर्ने निर्णय गरेको तदर्थ समितिका महासचिव ऋदिश पोखरेलले जानकारी दिनुभयो । यस एलुम्नाई एशोसिएसनको विधान बमोजिम एशोसिएसनको अध्यक्ष त्रिवि सभाको लागि पदेन सभासद् रहने व्यवस्था रहेको छ । त्रिवि स्थापनाको ५८ वर्षपछि त्रिविले पूर्व विद्यार्थीहरुलाई एलुम्नाई एशोसिएसनमार्फत संगठित गर्ने र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक एवं अनुसन्धानमुलक क्रियाकलापमा सहभागी गराउने नीति अगाडि ल्याएको त्रिवि उपकुलपति प्रा.डा.तीर्थराज खनियाले बताउनु भयो । देशकै पुरानो एवं जेठो विश्वविद्यालय भएकोले त्रिविबाट आधा शताब्दीसम्म उत्पादित लाखौं करोडौं दक्ष जनशक्ति हाल देश विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् भने राज्य सञ्चालन गर्ने र नीति निर्माण गर्ने ठाउँहरुमा समेत त्रिविबाटै उत्पादित जनशक्ति कार्यरत रहेका छन् । एलुम्नाई एशोसिएसनको सम्पर्क कार्यालय हाल त्रिवि केन्द्रिय कार्यालय सूचना तथा जनसम्पर्क महाशाखामा स्थापना गरिएको त्रिविका नोडल अधिकृत नोदनाथ त्रितालले बताउनु भयो ।

प्रकाशित मिति २०७४।१२।२८ गते

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news