Sign Into Mailbox

त्रिवि आयुर्वेद अध्ययन संस्थानसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

कीर्तिपुर (२८ चैत्र)/त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाको लागि गठित अध्ययन समितिले एक कार्यक्रमका बीच त्रिवि उपकुलपतिसमक्ष आयुर्वेद अध्ययन संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।
अध्ययन समितिका संयोजक आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्रा.डा. चन्द्रराज सापकोटाले उपकुलपति प्रा.डा. तीर्थराज खनिया र शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलाई संयुक्त रुपमा उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रतिवेदन बुझ्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले छोटो समयमा तोकिएको कार्यभार पुरा गर्ने अध्ययन समितिका सदस्यहरुलाई धन्यवाद दिनुहुँदै प्रतिवेदनसम्बन्धमा अध्ययन गरी कार्यकारी परिषद्मा छलफल गर्ने र निर्णयको लागि आगामी त्रिवि सभामा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समय र आवश्यकताको आधारमा आयुर्वेद अध्ययन संस्थान गठनको प्रक्रिया जायज भएकोले त्रिवि सभाबाट आवश्यक निर्णय गर्न पहल गरिने बताउनुभयो ।
चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत कीर्तिपुरमा रहेको एक मात्र आयुर्वेद क्याम्पसलाई अलग्गै आयुर्वेद अध्ययन संस्थान अन्तरगत सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययनको लागि गत फागुन १६ गते प्रा.डा. सापकोटाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन कार्यदल गठन भएको थियो ।
कार्यदलले अध्ययन प्रतिवेदनमा दश वर्षे दीर्घकालीन योजनासहित आयुर्वेद जनशक्तिको विद्यमान स्थिति, आयुर्वेद विशेषज्ञ जनशक्तिको आवश्यकता, संवैधानिक तथा नीतिगत आधार, अध्ययन संस्थान स्थापनाको औचित्य, प्रस्तावित कार्यक्रमहरु, आर्थिक प्रक्षेपण लगायत विषयवस्तुहरु समेटिएको संयोजक प्रा.डा. सापकोटाले बताउनु भयो । समितिले दीर्घकालीन रुपमा आयुर्वेदसम्बन्धी २२ वटा विषयमा एम फार्मेसी, एम डि/एम एस आयुर्वेदको पठनपाठन गर्न गराउन सकिने संभाव्यता रहेको पनि प्रतिवेदनमा सुझाव दिएको छ ।

Web

नेपालको संविधान २०७२ को धारा ५१ को खण्ड (ज)(७) मा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने विषय उल्लेख छ । त्यस्तै सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७१ नीति ३ सँग सम्बन्धित रणनीतिमा आयुर्वेद क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानसँग सम्बन्धित दक्ष जनशक्तिको उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिने विषय उल्लेख गरेको छ भने राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ बुंदा नं ६ मा पनि चिकित्साजस्तो प्राविधिक क्षेत्रमा योग्य, दक्ष र कर्तव्यनिष्ठ जनशक्तिको अहम् भूमिकालाई मनन गरी आयुर्वेद क्षेत्रमा समर्पित भई कार्य गर्न आयुर्वेदनिष्ठ जनशक्तिको प्रभावकारी उत्पादन र त्यसका विभिन्न पक्षहरू (शिक्षा, सेवा, र औषधि निर्माण) को गुणस्तर अभिवृद्धि तथा उत्तरोत्तर विकास गर्दै लैजानको लागि आवश्यक साधनयुक्त अनुसन्धान केन्द्रसहित राष्ट्रिय आयुर्वेद अध्ययन संस्थानको स्थापना त्रिवि अन्तर्गत गरिनेछ भन्ने विषय उल्लेख भएको अध्ययन समिति संयोेजक सापकोटाले जानकारी दिनुभएको छ ।
उक्त अध्ययन समितिमा नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा.डा. धनिकलाल भरखेर, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद र सह प्राध्यापक डा. राजकिशोर शाह, नेपाल सरकारको आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय र डा. राजेन्द्रकुमार गिरी, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप खरेल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइराला र नरदेवी आयुर्वेद चिकित्सालयका अध्यक्ष शंकर पौडेल रहनुभएको थियो ।
हाल त्रिवि अन्तरगत चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान गरी ५ वटा अध्ययन संस्थानहरु रहेका छन् भने व्यवस्थापन, कानुन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र गरी चार वटा संकायहरु रहेका छन् ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook